नारायणी अस्पताल तोडफोड प्रकरणमा वडाध्यक्ष आशुतोष चतुर्वेदी प्रहरी नियन्त्रणमा

वीरगंज । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा तोडफोडको घटनामा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुरका अनुसार चतुर्वेदीलाई घटनामा उनको संलग्नताबारे अनुसन्धान गर्न बोलाइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित आफन्त तथा स्थानीयले सोही दिन अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए । त्यसक्रममा ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि समेत कुटपिट भएको थियो ।

वडाध्यक्ष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका आफन्त तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले वडाध्यक्षलाई बिना सर्त रिहा गर्न माग गर्दै ‘नारायणी अस्पतालमा डाक्टरको गुण्डागर्दी बन्द गर’ लगायतका नारा लगाएका थिए । यसैबीच, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा सुरु भएको आन्दोलनका कारण वीरगञ्जका सरकारी तथा निजी अस्पतालमा तीन दिनदेखि आकस्मिक सेवासहित अधिकांश उपचार सेवा प्रभावित बनेका छन् ।

आन्दोलन थप चर्किँदै जाँदा नारायणी अस्पतालका ७१ जना चिकित्सकले मंगलबार सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले घटनामा संलग्न दोषीमाथि कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा तथा सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।