वीरगंज । सुनसरीमा भएको घटनापछि जिल्लाभित्र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषामा मंगलबार सर्वदलीय तथा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागी सरोकारवालाले जिल्लामा शान्ति–सुव्यवस्था कायम राख्न हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने निर्णय गरेका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्ने सहमति पनि भएको छ ।
बैठकले ६ बुँदे निर्णय गर्दै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा तथा साम्प्रदायिक तनाव फैलाउने सामग्रीको निगरानी बढाउने निर्णय गरेको छ । यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायले आपसी समन्वयमा प्रभावकारी रूपमा काम गर्ने सहमति भएको छ ।
सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता ऐन, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, धनुषा जिल्लाभित्र अवाञ्छित गतिविधि रोक्न विभिन्न धर्म तथा समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले निरन्तर पहल गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा रहेका विभिन्न धर्म, जातजाति, भाषा तथा समुदायबीच आपसी विश्वास र भाइचाराको सम्बन्ध थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधि तथा सामाजिक संघसंस्थाले सक्रिय भूमिका निर्वाह गर्ने सहमति गरेको छ ।
बैठकले कुनै पनि शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम गर्नुपर्ने निर्णयसमेत गरेको छ ।










