वीरगंज । वीरगंज भन्सार कार्यालयमा कर्मचारी र व्यापारीको मिलेमतोमा नेपाल सरकारले उठाउने करोडौं रुपैयाँ कर छली भएको पाईएको छ ।
मुलुककै प्रमुख राजस्व संकलन गर्ने कार्यालयका रुपमा रहेको वीरगंज भन्सार कार्यालय र तत्कालिन सुख्खा बन्दरगाह कार्यालयका कर्मचारी तथा व्यापकरीको मिलेमतोमा झुटा बिजक प्रयोग गरि १ करोड ३१ लाख २० हजार रुपैयाँ कर छली भएको पाईएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विभिन्न आयातकर्ताको हलो र रोटाभेटरका व्लेड लगायतका पार्टपूर्जाहरु पैठारीमा फरक भन्सार उपशिर्षक लगाई जाँचपास गरेर वीरगंज भन्सार कार्यालयले ५२ लाख ९२ हजार र सुख्खा बन्दगाह भन्सार कार्यालयले ७८ लाख २८ हजार गरि १ करोड ३१ लाख रुपैयाँ मुल्य अभिबृद्धि कर छली भएको महालेखा परीक्षकको प्रतिवेदनबाट देखिएको छ ।
भन्सार महसुल ऐन २०८१ को दफा ४ मा नेपालमा पैठारी हुने मालबस्तुमा हार्माेनाईज्ड प्रणालीको नियम अनुसार वर्गीकरण गरि दफा ३ बमोजिम तोकिएको महसुल लिनु पर्ने व्यवस्था छ ।
यस्तै, आार्थिक ऐन, २०८१ को दफा २ मा बिदेशबाट नेपालभित्र पैठारी हुने मालबस्तुमा दफा ३ मा मूल्य अभिबृद्धि कर ऐन, २०५२ बमोजिम मूल्य अभिबृद्धि कर लगाई असुल गर्नु पर्ने व्यवस्था छ । तर वीरगंज भन्सार र सुख्खा बन्दगाह भन्सार कार्यालयका कर्मचारी र व्यवापारीको मिलेमतोमा झुटा विवरणबाट फरक भन्सार उपशिर्षक लगाई एक करोड ३० लाख मूल्य बराबरको कर छली भएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।
कृषि, बागबानी वा वन सम्बन्धी कार्यका लागि माटो तयार गर्ने वा खेती गर्ने प्रयोजनका लागि यन्त्रबालीका पार्टपूर्जाहरुबाट १ प्रतिशत भन्सार महसुल र मूल्य अभिबृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा वीरगंज भन्सार र सुख्खा बन्दगाह कार्यालयका कर्मचारी तथा व्यापारीको मिलेमतोमा फरक भन्सार उपशिर्षक लगाई भन्सार उपशिर्षक नम्बर ८४३२.१० बाट हलोहरु र भन्सार उपशिर्षक ८४३१.२९ बाट हरोहरु÷बिडरहरु जस्ता पूर्ण मेसिनरीबाट १ प्रतिशत भन्सार महसुल मात्र जाँचपास गरेको छ ।
कर्मचारी र व्यापारीको मिलेमतोमा फरक भन्सार जाँचपास गर्दा वीरगंज भन्सार कार्यालयको रु ५२ लाख ९२ हजार मूल्य अभिबृद्धि कर तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयको रु ७८ लाख २८ हजार लिनु पर्ने मूल्य अभिबृद्धि कर नियम विपरित छुट दिई दम्पच गरिएको स्रोतको दाबी छ ।
दुबै कार्यालयका कर्मचारकिो मिलेमतोमा १ करोड ३१ लाख २० हजार रुपैयाँ छुटको नाममा लुट भएको स्रोतको दाबी छ । जुन कानून सम्मत दिन नमिल्ने छुट भएको उक्त रकम छानबिन गरि असुल गर्न महालेखाले समेत निर्देशन दिएको छ ।
यसले समेत कर्मचारी र व्यापारीको मिलेमतोमा कर छली भएको पुष्टि हुन्छ ।
कानुन सम्मत छुट दिन नमिल्ने छुटको बाहानामा लुट मचाएका कर्मचारी तथा व्यापारीको साँठघाँठमा हलो र रोटाभेटरका व्लेड लगायतका पार्टपूर्जाहरु पैठारीमा भएको यो कर छली एउटा उदाहरण मात्रै हो । यसरी नै कानूनले छुट दिन नमिल्ने तथा जाँचपासको नाममा प्रज्ञापनपत्रमा समेत झुटा विवरण पेश गरी सरकारले उठाउने बार्षिक करोडौंको राजस्व छली भईहरको स्रोतको दाबी छ । हलो र रोटाभेटरका व्लेड लगायतका पार्टपूर्जाहरु पैठारीमा कानून सम्मत दिन नमिल्ने छुट दिएर कर छली भएको विषय लेखापरिक्षणको क्रममा फेला परे पनि यस्ता कतिपय कर छलीका विषयहरु दबिएर सरकारले उठाउने करले कर्मचारी र व्यापारीको गोजी भर्ने गरेको एक जना भन्सार एजेन्टले बताएका छन् ।
यस विषयको छानबिन र कारबाही प्रकृया बारे बुझ्न भन्सार विभागका निर्देशक सूचना अधिकारी किशोर बर्ताैलालाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।










