काठमाडौँ । एक वर्षमा झण्डै ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२र८३ को वार्षिक ९साउनदेखि असारसम्म० तथ्यांकअनुसार नेपालले एकै वर्षमा झण्डै ६० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ ।
तथ्यांक अनुसार यस अवधिमा कुल १ अर्ब २१ करोड ६३ लाख किलो ९करिब १२ लाख १६ हजार मेट्रिक टन० भन्दा बढी विभिन्न प्रकारका अनाज नेपाल भित्रिएको छ । यसबापत नेपालबाट कुल ५९ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने सरकारले यी वस्तुको आयातबाट अर्बौँ रुपैयाँ भन्सार राजस्वसमेत संकलन गरेको छ ।
आयात भएको कुल खाद्यान्नमध्ये सबैभन्दा ठुलो हिस्सा धान र चामलको रहेको छ । तथ्यांकअनुसार एक वर्षको अवधिमा १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको ४७ करोड ४९ लाख किलो अन्य धान आयात भएको छ । त्यसैगरी, ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको १८ करोड ३१ लाख किलो ‘विभिन्न किसिमका चामल’ र ८ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ करोड १६ लाख किलो ‘बासमती चामल’ नेपाल भित्रिएको छ । यस्तै १ अर्ब २९ करोड रुपैयाँको करिब ३० लाख किलो धानको बीउ र ३६ करोड रुपैयाँ बराबरको ९० लाख किलो कनिका समेत आयात भएको छ ।










