वीरगंज । मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सर्लाहीको बागमती नगरपालिका–स्थित बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वअर्थमन्त्री साहसहित मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारका अनुसार बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ । आयोगले पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरविरुद्ध ३५ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
त्यस्तै, बागमती नगरपालिकाका मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलले ३९ करोड ३९ लाख रुपैयाँ हानि–नोक्सानी पुर्याएको आरोपमा उनीहरूविरुद्ध पनि बिगो तथा सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।










