पर्सामा ३७ वर्षीया महिला गोठमा मृत फेला, माइती पक्षद्वारा हत्या भएको आशंका

पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा एक महिला आफ्नै गोठमा मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय सुधीर सिलवालकी ३७ वर्षीया पत्नी लक्ष्मी सिलवालको शव बिहीबार बिहान गोठको माथिल्लो तलामा फेला परेको हो । दुई सन्तानकी आमा लक्ष्मीको मृत्यु आत्महत्याबाट नभई हत्या भएको माइती पक्षले आरोप लगाएको छ । घटनाको प्रकृति र परिवारका सदस्यहरूको भनाइसमेत विवादास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माइती पक्षले माग गरेको छ ।

मृतककी सासुले गोठको माथिल्लो तलामा डोरीमा झुन्डिएको अवस्थामा शव फेला परेको र आफूहरूले डोरी खोलेको बताएकी छन् । तर, मृतकका चार वर्षीय छोराले भने ‘बाबाले ममीलाई लछारपछार गर्दै कुटेको’ बताएको माइती पक्षको दाबी छ । घटनास्थलमा मृतकले लगाएको चुरा तीन फरक स्थानमा फुटेर भुइँमा छरिएको अवस्थामा भेटिएको जनाइएको छ । त्यस्तै, झुन्डिएको भनिएको स्थानमा प्रयोग भएको लाइलनको डोरी बाँधिएको काठ कमजोर रहेको र त्यसबाट सजिलै खुट्टाले माथिल्लो तला भेटिने अवस्था रहेको स्थानीयले बताएका छन् । यसले घटना शंकास्पद रहेको उनीहरूको भनाइ छ।

यता, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मृतकको शरीरमा कुनै निलडाम नदेखिएको भन्दै घटना शंकास्पद नरहेको बताएका छन्।

मृतकका बुबा तथा ठोरी गाउँपालिका–३ निवासी लक्ष्मी सिवाकोटीले घटनाको प्रकृति, परिवारका सदस्यहरूको विवादास्पद भनाइ र घटनास्थलको अवस्थाको अध्ययन गर्दा आत्महत्या नभई हत्या भएको निष्कर्षमा आफूहरू पुगेको बताएका छन् । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी उम्कन नपाउने गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रहरीले भने घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।