लोकतन्त्रको मर्म नबुझ्नेहरू सत्तामा छन् : पूर्वराष्ट्रपति डा. रामवरण यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू सत्तामा रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘चक्रप्रसाद बाँस्तोला स् बौद्धिकता र विद्रोह’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले संविधान र संघीयतामाथि प्रश्न उठाउने अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

अर्थमन्त्रीले संघीयता नराख्ने वा खारेज गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउँदै पूर्वराष्ट्रपति यादवले यस्ता धारणा देशलाई पछाडि धकेल्ने र राणाकालीन सोच पुनः स्थापित गर्ने खतरा रहेको बताए ।

उनले भने, “मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । अर्थमन्त्रीले संघीयता खत्तम गर भनेर बोल्छन् । यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने र देशलाई बर्बाद गर्ने खतरा देखिन्छ ।”

पूर्वराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय संस्थामा काम गरेका तथा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूबाट नै संघीयता विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका व्यक्तिहरूले संघीयताको विरोध गर्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।

संघीयतासँग मुलुकका धेरै राजनीतिक, सामाजिक र संवैधानिक उपलब्धिहरू जोडिएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।