२१ ग्राम ९१ मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ

पर्सामा प्रहरीले २१ ग्राम ९१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२ मुरलीचोक बस्ने ७२ वर्षीय नारायण बहादुर केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा मंगलवार वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित बहिरङ विद्यालय अगाडिको सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले कानूनबमोजिम खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीबाट सेतो पारदर्शी प्लास्टिकको पोका फेला परेको थियो। उक्त पोकाभित्र रहेका १५ वटा स–साना कागजी पुरियासहित ४० ग्राम ७४ मिलिग्राम र कागज बाहेक २१ ग्राम ९१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

यस्तै, उनको पाइन्टको बायाँ खल्तीबाट लागूऔषध ब्राउन सुगरको कारोबारसँग सम्बन्धित पुराना कारोबारीका रूपमा उल्लेख गरिएका दुई जनाको नाम र ५ हजार मिलिग्रामसम्बन्धी विवरण रहेको कागजको टुक्रासमेत फेला परेको छ।

बरामद पदार्थसहित पक्राउ परेका केसीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता मल्लले जानकारी दिए।