पर्सामा जंगलबाट २१ क्यूबिक फिट अवैध सालको काठ बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाइछिपाइ राखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार शुक्रबार अपराह्न प्राप्त विशेष सूचनाका आधारमा सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकायको नेतृत्वमा रहेको संयुक्त टोलीले उक्त जंगल क्षेत्रमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा जंगलको छेउमा लुकाइछिपाइ राखिएको अवस्थामा अन्दाजी २१ क्यूबिक फिट सालको गोलिया काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार साँझ सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया सब–डिभिजन वन कार्यालय सबैयाले अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलले वन सम्पदाको अवैध कटानी, ओसारपसार तथा चोरी–निकासी नियन्त्रणका लागि सुरक्षा निगरानीलाई निरन्तर प्रभावकारी बनाइएको जनाएको छ ।