राजविराजस्थित कारागारमा पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा नाइकेसम्बन्धी विवादका कारण पाँच जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् ।

प्राप्त जानकारीअनुसार शनिबार बिहान कारागारभित्र नाइकेको भूमिकालाई लिएर दुई पक्षबीच विवाद भएपछि एक पक्षका पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका हुन् ।सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार गत दुई दिनदेखि कारागारभित्र दुई समूहबीच विवाद चलिरहेको थियो । विवादकै क्रममा एक पक्षका कैदीबन्दीले मेसमा खाना पकाउन राखिएको मट्टितेल शरीरमा छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

कैदीबन्दीहरूले कारागार नाइकेले बिना कारण दुर्व्यवहार गर्ने तथा दुःख दिने गरेको आरोप लगाउँदै उनलाई हटाउनुपर्ने माग गरेका थिए । एक पक्षले नाइकेलाई हटाउनुपर्ने र अर्को पक्षले हटाउन नहुने अडान लिएपछि विवाद चर्किएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार आत्मदाहको प्रयास गर्ने पक्षका कैदीबन्दीहरू नाइकेलाई हटाउनुपर्ने मागमा अडिग थिए । घटनापछि नाइकेलाई अन्यत्र सारिएसँगै कारागारको अवस्था सामान्य बनेको उनले जानकारी दिए । आत्मदाहको प्रयास गरिए पनि सुरक्षाकर्मी र चिकित्सक टोली तत्काल घटनास्थलमा पुगेकाले कुनै मानवीय क्षति हुन नपाएको प्रशासनले जनाएको छ ।