देशभरका सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र (आईडी कार्ड) लगाउन निर्देशन दिएको छ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै सरकारी निकायलाई परिपत्र जारी गरेको हो ।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय तहलाई पठाएको परिपत्रमा कार्यालय समयमा नेपाल सरकारले निजामती कर्मचारीका लागि तोकेको पोशाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक निकायमा कार्यरत कर्मचारीले तोकिएको पोशाक र परिचयपत्रको अनिवार्य पालना गराउने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले असार २६ गते मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा मन्त्रालयले सबै सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सरकारी कार्यालयमा सेवाग्राहीलाई कर्मचारीको सहज पहिचान, अनुशासन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन पोशाक र परिचयपत्रको अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । साथै, सम्बन्धित कार्यालय प्रमुखलाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिइएको छ ।