पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको वर्ग परिवर्तन गरी गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी सञ्जय कुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट तथा पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउत कुर्मीविरुद्ध आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा महेन्द्र राउत कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पोखरिया नगरपालिकाको अपाङ्गता समन्वय समितिको २०७८ असोज ११ गतेको निर्णयअनुसार उनलाई ‘थ्’ ९ग० वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको थियो। उक्त वर्गका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था हुँदाहुँदै पनि सरकारी अभिलेखमा रहेको विवरण केरमेट गरी ‘च्भम’ ९क० वर्गमा परिवर्तन गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कर्मचारीहरू र लाभग्राहीबीचको मिलेमतोमा झुटो विवरण तयार गरी प्रमाणित गरिएपछि महेन्द्र राउत कुर्मीले रु। १ लाख ९१ हजार ५२० सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए।

अख्तियारले उक्त रकमलाई बिगो कायम गर्दै सञ्जय कुमार पाण्डेय र अम्बिका महतो खुलवटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ९ र दफा ११ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ।

यस्तै, महेन्द्र राउत कुर्मीलाई भ्रष्टाचारजन्य कार्यमा मतियार बनेको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ ।