हात्तीको आक्रमणले ज्यान गुमाएका बोटे परिवारलाई २० लाख राहत

चितवनको भरतपुरमा जंगली हात्ती ‘धुर्बे’को आक्रमणबाट ज्यान गुमाएका बोटे परिवारलाई चितवन राष्ट्रिय निकुन्जले क्षतिपूर्तिबापत २० लाख रुपैयाँ दिएको छ ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका–२३ बेलहठ्ठास्थित क्रिया बसेकै ठाउँमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र निकुन्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा मगरले राहत रकम २० लाख रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट क्रियाखर्च बापतको एक लाख रुपैयाँ गरी २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रजिअ अर्याल र प्रमुख संरक्षण अधिकृत पुर्जा मगरले बोटे परिवारमा समवेदनासमेत प्रकट गरे ।

गत शनिबार राति भरतपुर–२३, स्थित बेलहठ्ठाका पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको ‘धुर्बे’ले घरमै ज्यान लिएको थियो । लगत्तै वडाध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयहरु शव लिएरै निकुन्जको मुख्यालय कसरा पुलमा पुगेर प्रदर्शन गरेका थिए । तत्कालै निकुन्ज प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीबीच क्षतिपूर्तिबापतको राहत तत्काल उपलब्ध गराउने गरी चार बुँदे सहमति भएको थियो ।