वीरगंज । सरकारले निर्धारण गरेको चैते धानको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पर्साका किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । बजारमा बिचौलियाको प्रभाव बढ्दै जाँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।
बिरुवागुठीका एक किसानका अनुसार सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा तोके पनि किसानले बजारमा प्रतिक्विन्टल १ हजार ९०० देखि २ हजार रुपैयाँसम्म मात्रै मूल्य पाइरहेका छन् । समर्थन मूल्य र बजार मूल्यबीच ठूलो अन्तर हुँदा किसान प्रत्यक्ष आर्थिक मारमा परेको उनको भनाइ छ ।
पर्सागढी नगरपालिका–३ का किसान आशिष अधिकारीले समर्थन मूल्य लागू नहुँदा बिचौलियाले बढी फाइदा उठाइरहेको बताए । किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने मूल्यमा धान बिक्री गर्न बाध्य भए पनि सरकारी निकायले समर्थन मूल्यअनुसार खरिदको व्यवस्था गर्न नसकेको उनको गुनासो छ ।
किसानहरूले सरकारले समर्थन मूल्य घोषणा गरे पनि त्यसको कार्यान्वयन र अनुगमन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । उनीहरूका अनुसार समर्थन मूल्य कागजमै सीमित हुँदा किसानले सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने अवस्था आएको छ ।
किसानहरूले धानको उचित मूल्य सुनिश्चित गर्न समर्थन मूल्यअनुसार सरकारी खरिद व्यवस्था, बजार अनुगमन प्रभावकारी बनाउन तथा किसानमैत्री नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । तत्काल आवश्यक व्यवस्था नगरिए धानखेतीप्रति किसानको आकर्षण घट्ने र कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्ने उनीहरूको चेतावनी छ ।










