बारा । यस वर्ष समयमै पर्याप्त मनसुनी वर्षा हुन नसक्दा बारा जिल्लामा धान रोपाइँको गति निकै सुस्त बनेको छ ।
असारको तेस्रो साता बितिसक्दा पनि पर्याप्त पानी नपर्दा जिल्लाका अधिकांश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाराको पछिल्लो तथ्यांकअनुसार असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये ५ हजार ८६३ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो कुल खेती क्षेत्रफलको करिब १३ प्रतिशत हो ।
बारामा यस वर्ष करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । तर ढिलो गरी सुरु भएको मनसुन र न्यून वर्षाका कारण किसानले ब्याड राख्न, खेत जोत्न र रोपाइँ गर्न समस्या भोगिरहेका छन् । कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म करिब १९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको थियो । यस वर्षको रोपाइँ दर गत वर्षको तुलनामा ६ प्रतिशतले कम रहेको छ ।
केही स्थानीय तहमा उपलब्ध सिँचाइ स्रोतको प्रयोग गरी किसानले रोपाइँलाई निरन्तरता दिएका छन् । आगामी दिनमा मनसुन सक्रिय भएमा रोपाइँले गति लिने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यसअघि गत आर्थिक वर्षमा बारामा धान उत्पादनको अवस्था उत्साहजनक रहेको थियो। गत वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा ४५ हजार ९९ हेक्टर अर्थात् करिब ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।










