अढाई महिनापछि वीरगंजको मेनरोडमा पुनः डोजर चल्यो

त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगंजको मेनरोड (मुख्य सडक) क्षेत्रमा रहेका संरचनामाथि शुक्रबारदेखि फेरि डोजर चलाइएको छ ।

करिब अढाई महिनादेखि रोकिएको मेनरोड विस्तारको काम पुनः सुरु गरिएको हो । गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रमा पर्ने घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो । त्यसपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी संरचना आफैं हटाउन आग्रह गरिएको थियो । तर अधिकांशले संरचना नहटाएपछि सडक विभागले शुक्रबारदेखि बाँकी संरचना हटाउन थालेको जनाएको छ ।

सडक डिभिजन हेटौंडाका प्रमुख किरण कार्कीका अनुसार शुक्रबारदेखि वीरगंजको गण्डक चोकबाट फेरि डोजर चलाएर सडक सीमा क्षेत्रभित्र रहेका संरचना हटाउन सुरु गरिएको हो । यसअघि असार २ गते सडक डिभिजन हेटौंडाले सूचना जारी गर्दै पाँच दिनभित्र घरधनीले आफैं संरचना खाली नगरे सडक ऐन, २(३) बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत विभागले हटाउने चेतावनी दिएको थियो ।

कार्कीका अनुसार सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५र२५ मिटर क्षेत्र खाली गराउने कार्य वैशाख ६ गतेबाट सुरु गरिएको थियो । पहिलो चरणपछि पनि क्षतिग्रस्त भवन घरधनीले नहटाएकाले कानुनी प्रक्रियाअनुसार शुक्रबारदेखि पुनः हटाउन थालिएको हो ।

सडक विभागले पहिलो चरणमा गण्डक चोकदेखि मितेरी पुलसम्म करिब १ हजार २०० घर तथा भवनमा डोजर चलाएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश भवन अझै हटाइएको छैन । उता मेनरोड क्षेत्रका घरधनीहरूले सडक विस्तारको विरोध गर्दै आन्दोलन जारी राखेका छन् ।

बिहीबार पर्सा–१ का सांसद हरि पन्तसहित वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको टोलीले काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर मेनरोडलाई शहरी मार्ग घोषणा गरी १५र१५ मिटर मात्रै विस्तार गर्न माग गरेको थियो ।

एकातर्फ सडक विभागले कानुनअनुसार सडक सीमा संरक्षणको काम अघि बढाएको जनाएको छ भने अर्कोतर्फ स्थानीयले वैकल्पिक समाधानसहित सडक विस्तार गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् ।