सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित विष्णु मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा ट्रिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।
बिहान रुपनगरबाट कञ्चनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ त २७६० नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ६००९ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक कञ्चनरूप नगरपालिका–११ निवासी ३० वर्षीय श्यामकुमार सदा, १८ वर्षीय धीरजकुमार सदा, ६० वर्षीय महमद रहमान, ५५ वर्षीया नाजो खातुन र ३२ वर्षीया सवनम खातुन घाइते भएका छन् ।
घाइतेमध्ये महमद रहमान, नाजो खातुन, श्यामकुमार सदा र सवनम खातुनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । धीरजकुमार सदाको भने धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर, ट्रिपर तथा ट्रिपर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–४ निवासी अन्दाजी २८ वर्षीय प्रदीप विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










