साउदीको जेलमा रहेका ३३ नेपालीले पाए आममाफी, छिट्टै नेपाल फर्किँदै

मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको छ ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले यो मानवीय र उदार निर्णय लिएको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अधिराज्यको यस कदमप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ भने यस निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई थप उजागर गरेको उल्लेख गरेको छ ।

आममाफी पाएका ३३ जना नेपाली नागरिकहरू साउदी अरबको स्थानीय कानुनी प्रक्रिया पूरा हुनासाथ छिट्टै स्वदेश फर्कने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।