पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित अमरपट्टी सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार मंगलबार बिहान करिब २ बजे बीओपी प्रसौनीभाठ्ठा र बीओपी अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन् । उहाँको साथमा रहेको प्लास्टिकको बोराको खानतलासी गर्दा दुई वटा पोकामा राखिएको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा पक्राउ परेका सहनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










