अवैध सालको काठसहित दुई साइकल बरामद

पर्साको वीरगंज महानगरपालिका–३१ बेल्वास्थित भित्री सडक खण्डबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ र दुई वटा साइकल बरामद गरेको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब २ बजे प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा दुई वटा साइकलमा सालको गोलिया ९काठ० बोकी लगिरहेको अवस्था फेला पारेको थियो । प्रहरी टोलीलाई देख्नेबित्तिकै काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल घटनास्थलमै छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले करिब ३।५ फिट लम्बाइ र ३।५ फिट मोटाइ भएको सालको गोलिया तथा दुई वटा साइकल नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएको सालको काठ र साइकल थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सबैया वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।