चिकित्सकका लागि नयाँ आचारसंहिता जारी, सामाजिक सञ्जालमा कडाइ

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको प्रयोगसम्बन्धी आठबुँदे आचारसंहिता जारी गरेको छ ।

बढ्दो डिजिटल पहुँचसँगै चिकित्सकहरूले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति र सूचनाहरूलाई मर्यादित, तथ्यपरक र बिरामीको गोपनियतासँग जोड्न काउन्सिलले नयाँ नियमहरू लागू गरेको हो ।

नयाँ आचारसंहिताअनुसार अब चिकित्सकले काउन्सिलमा दर्ता भएको बाहेकका उपाधि सामाजिक सञ्जालमा राख्न पाउने छैनन् । उपचारसम्बन्धी कुनै पनि जानकारी दिँदा वैज्ञानिक तथ्य र विश्वसनीय सन्दर्भ सामग्री ९रिफरेन्स० उल्लेख गर्नुपर्ने अनिवार्य गरिएको छ ।

बिरामीको विषयमा जानकारी दिँदा अनिवार्य रूपमा ‘सुसूचित मञ्जुरी’ ९इन्फम्ड कन्सेन्ट० लिनुपर्नेछ भने बिरामीको पहिचान खुल्ने गरी तस्बिर वा भिडियो पोस्ट गर्न पूर्णतः बन्देज लगाइएको छ ।

अनलाइन परामर्शको सन्दर्भमा काउन्सिलले भौतिक परामर्श सरहकै कानुनी दायित्व रहने स्पष्ट पारेको छ। अनलाइन सुझाव दिँदा लिखित अभिलेख राख्नुपर्ने, निदान असहज देखिएमा बिरामीलाई भौतिक रूपमा उपस्थित भई जाँच गराउन सल्लाह दिनुपर्ने र पेसागत मर्यादाभित्र रहेर मात्र आलोचनात्मक टिप्पणी गर्न पाइने व्यवस्था गरिएको छ ।

साथै, सामाजिक सञ्जालमा सहकर्मी चिकित्सकहरूप्रति अपमानजनक शब्दको प्रयोग गर्ने वा गालीगलौज गर्ने कार्यलाई गम्भीर आचारसंहिता उल्लंघन मानिनेछ ।

पछिल्लो समय चिकित्सकहरूको सामाजिक सञ्जालको प्रयोगलाई लिएर उठ्ने गरेका प्रश्नहरूलाई मध्यनजर गर्दै जारी गरिएको यो आचारसंहिताले पेसागत गरिमा कायम राख्न र बिरामीको गोपनीयता सुरक्षित गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । काउन्सिलले तोकिएको मर्यादाविपरीत हुने अभिव्यक्ति र आचरणप्रति सचेत रहन सम्पूर्ण चिकित्सकहरूलाई निर्देशन दिएको छ ।