चैत २८, वीरगंज । एकजना स्थायी शिक्षकले साथीसंग मिलेर पांच कक्षामा अध्ययनरत १२ वर्षीया नाबालिगको बलात्कार गरी फरार भएको समाचार प्राप्त भएको छ ।
डोकैला बहुअरीस्थित डोकैला माविमा सामाजिक विषयका २६ वर्षीय स्थायी शिक्षक रूपेश यादवले सखुवाप्रसौनी गापा–५ निवासी एक १२ वर्षीया नाबालिगलाई २० वर्षीय युवक लड्डु यादवसंग मिलेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
घटना यही चैत १७ गतेको हो । सो दिन शिक्षक यादव र युवक यादवले मिलेर १२ वर्षीया नाबालिगलाई ललाइफकाइ फरक–फरक स्थानमा लगेर बलात्कार गरेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार सो दिन शुरूमा लड्डु यादवको घरमा नाबालिगलाई मध्याह्न १२ देखि अपराह्न साढे ४ बजेसम्म बन्धक बनाइ बलात्कार गरिएको थियो । त्यसपछि नाबालिगलाई सांझ ५ देखि राति साढे ९ बजेसम्म भगल यादवको घरमा राखेर बलात्कार गरिएको थियो ।
चैत १७ गतेको यो घटनाबारेमा परिवारले चैत १८ गते पर्सा प्रहरीमा शरीरबन्धक र जबरजस्ती करणीको मुद्दा दायर गरेपछि नाबालिगको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा बलात्कार भएको देखिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएपछि अभियुक्त यादवद्वयको खोजी कार्य हुंदा उनीहरूले फरार रहेको पर्सा प्रहरीले बताएको छ ।
स्थानीयले पनि घटनापछि दुवैजना फरार भएको जानकारी गराएका छन् । प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षणसहित मुद्दा दर्ता भएको र फरार अभियुक्त यादवद्वयको खोजी कार्य तीव्र बनाइएको जनाएको छ ।










