वीरगंजमा ४६ लाख ४९ हजारको अवैध केरासहित ट्रक बरामद

चैत २२, वीरगंज । वीरगंजमा भन्सार छली गरी भारतबाट ल्याइएका काँचो केरासहित एक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जका गुल्मपति डिएसपी विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगंज महानगरपालिका–१६ नगवा फुलवारी टोलस्थित ओमफ्रुट सेन्टर अगाडि टोलीले चेकजाँचका क्रममा प्रदेश ०३–०१–००६ ख ०८३० नम्बरको छ चक्के टाटा ट्रकमा लोड गरिरहेको अवस्थामा भारतबाट अवैध रूपमा ल्याइएका १८२ क्रेट काँचो केरा फेला परेको हो ।

प्रहरीका अनुसार आवश्यक कागजात माग गर्दा कुनै पनि कागजपत्र प्रस्तुत गर्न नसकेपछि ट्रक र केरासहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको ट्रक र केरालाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार जफत गरिएको केरासहित ट्रकको भन्सार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।