पर्सामा सबै सरकारी कार्यालय बिचौलियामुक्त बनाउन प्रशासनको निर्देशन

चैत २२, वीरगंज । पर्सा जिल्लामा रहेका सबै सरकारी कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभरका सबै सरकारी कार्यालयहरूलाई बिचौलियामुक्त सेवा सुनिश्चित गर्न निर्देशन दिएको हो । कार्यालयले सरकारी सेवा छिटो, सरल, सहज र पारदर्शी रूपमा उपलब्ध गराउन सबै कार्यालयलाई औपचारिक रूपमा आग्रहसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकी प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित र सहज रूपमा सञ्चालन भइरहेका छन् । उनले कार्यालय परिसर मात्र होइन, वरपर समेत बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।

उनका अनुसार बिचौलियाहरूले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्य रोक्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छ ।

जारी सूचनामा उल्लेख गरिएको छ, “यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ ।”