धनुषामा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

चैत २०, धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नकटाझिजमा कार्यरत प्रहरी निरीक्षक वकिल अधिकारी लाई ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिइएको हो ।

अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेल का अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग अनधिकृत रकम माग गरिएको सूचनाका आधारमा विशेष निगरानीमा राखिएको थियो ।

उक्त सूचनाका आधारमा अख्तियारको टोलीले घुस रकम लिइरहेको अवस्थामा निरीक्षक अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।