चैत १८, वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७०र७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट संकलन भएको रु २ करोड ९३ लाख ६८ हजार ५६५ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने रकम आपसी मिलेमतोमा हिनामिना गरिएको पुष्टि भएको भन्दै अख्तियारले तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीलाई मुख्य आरोपी बनाएको छ ।
अख्तियारले बिगो दाबी गर्दै भूपबहादुर बोगटीसँग रु १ करोड १० लाख ६० हजार ५२४, सुरेन्द्रप्रसाद राव कुर्मीसँग रु ९९ लाख १० हजार ५२५, हरिनारायण मिश्रसँग रु ३८ लाख ८० हजार ३६८ र पदमप्रसाद अर्यालसँग रु २१ लाख ३८ हजार १६९ असुल गर्न माग गरेको छ ।
यसैगरी, उक्त प्रकरणमा संलग्न तत्कालीन नायब सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायको निधन भइसकेकाले उनको हिस्साको बिगो असुल गर्न उनका चार छोराहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
मृतक उपाध्यायका छोराहरूबाट कुल बिगो रकम रु २ करोड ९३ लाख ६८ हजार ५६५ असुल उपर गर्नुपर्ने दाबी आरोपपत्रमा उल्लेख गरिएको छ ।










