प्रहरीलाई गृहमन्त्रीको निर्देशन–नागरिकमैत्री, स्वच्छ र पारदर्शी सेवा दिनुस्

चैत १८, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

गृहमन्त्री गुरुङले महिला र बालबालिकामा हुने हिंसा नियन्त्रण र त्यसमा संलग्नहरुलाई कडा कार्वाही गर्न समेत निर्देशन दिएका छन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारवाही, सेवा प्रवाह र अपराध अनुसन्धानका बिषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए ।

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिएका थिए ।