चैत १८, वीरगंज । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले इन्धनको आकाशिएको मूल्यलाई मध्यनजर गर्दै सरकारले इन्धनमा लाग्ने करलाई आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गरेका छन्।
राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनासम्म ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गर्ने जानकारी दिए।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित तेल संकटले इन्धनको मूल्य बढिरहेको सन्दर्भमा यस पहलले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घटाउने उनले बताए। अष्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआईपी) को पछिल्लो तथ्याङ्कअनुसार आइतबार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अष्ट्रेलियन डलर ९करिब १.७३ अमेरिकी डलर) पुगेर नयाँ कीर्तिमान कायम गरेको छ। यो अघिल्लो हप्ताको २.३८ अष्ट्रेलियन डलरको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो। त्यसैगरी, सोही अवधिमा डिजेलको औसत राष्ट्रिय मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अष्ट्रेलियन डलर पुगेको एआइपीले जनाएको छ।










