चैत १८, वीरगंज । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँग वार्तामा रहेको र युद्ध अन्त्य हुने आशा रहेको बताएका छन्। उनले फक्स न्युजसँग भनेका छन्, ‘वार्ता जारी छ। प्रत्यक्ष भेट जुनसुकै बेला हुन सक्छ। हामी त्यसका लागि सधैँ तयार रहनेछौँ।’
तर राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले झुटा वा ढोँगी वार्ता गरेर समय बर्बाद मात्र नगरोस् भन्ने चाहेको उनले बताए। युद्ध अन्त्य गर्ने सन्दर्भमा रुबियोले भने, ‘म समयसीमा तोक्न चाहन्नँ, तर फिनिस लाइन देखिँदै छ।’
यस क्रममा उनले नेटोको आलोचना पनि गरे। उनले भने, ‘अमेरिकाले केही समयदेखि देशको सेवा गर्दै आएको यो गठबन्धन अझै काम गरिरहेको छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन सक्छ।’ यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि ‘दुई वा तीन हप्ता’भित्र अमेरिका इरान युद्धबाट बाहिरिने संकेत गरेका थिए।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘मेरो एउटै लक्ष्य थियोस् इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस्, त्यो लक्ष्य प्राप्त भइसकेको छ।’ उनले अगाडि भनेका छन्, ‘हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिइरहेका छौँ। सायद दुई हप्ताभित्र वा काम पूरा हुन केही दिन बढी लाग्न सक्छ, त्यसपछि अमेरिका इरानबाट बाहिरिनेछ।’
साथै ट्रम्पले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसभन्दा पहिले सम्झौता पनि हुन सक्ने बताए। एक पत्रकारले उनलाई अमेरिकामा बढ्दो ग्यासको मूल्य र त्यसलाई घटाउने उनको योजनाबारे सोध्दा उनले भने, ‘यसका लागि हामी इरानबाट बाहिर निस्कनु हो र हामी त्यो चाँडै गर्नेछौँ। हामी त्यहाँबाट चाँडै बाहिर निस्कनेछौँ।’
यसैबिच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि केही सर्त पूरा भएमा अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न आफूहरू तयार रहेको बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ।
भनिएको छ, ‘युद्ध अन्त्य गर्ने पेजेस्कियानका इच्छासँगै धेरै सर्त पनि छन्, खासगरी भविष्यमा द्वन्द्व पुनः सुरु नहुने ग्यारेन्टी।’ यसअघि इरानले अमेरिकाको १५-बुँदे शान्ति प्रस्तावको जवाफमा पनि आक्रमण नदोहोरिने ग्यारेन्टी मागेको थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधाररअड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ।
जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।










