सप्तरीमा चैते धान उत्पादन बढ्ने अनुमान

चैत १७, सप्तरी । यस वर्ष सप्तरीमा चैते धानको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि उल्लेख्य वृद्धि हुने देखिएको हो ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गत आर्थिक वर्षमा २,८०० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा १३,३५६ मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा भने खेती क्षेत्र विस्तार भई ३,१०० हेक्टर पुगेकाले १४,७८७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउत ले जिल्लाका किसानहरू अझै पनि खेतमा चैते धान रोपाइँमा व्यस्त रहेकाले उत्पादनको तथ्याङ्क अझै बढ्न सक्ने बताउनुभयो। उहाँका अनुसार सप्तरीको हावापानी चैते धानका लागि उपयुक्त हुनुका साथै स्थानीय तहहरूले कृषि विद्युतीकरणमा जोड दिएकाले किसानहरूको आकर्षण यसतर्फ बढेको हो ।