तीन पूर्वप्रधानमन्त्रीसहित पाँच शीर्ष नेता सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको दायरामा

चैत १६, काठमाडौं । सरकारले तीन पूर्वप्रधानमन्त्री (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) तथा दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा विस्तृत अनुसन्धान अघि बढाएको छ। उक्त अनुसन्धानकै क्रममा पूर्वमन्त्री दीपक खड्का आइतबार पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा यी पाँच उच्चपदस्थ नेताहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको हो। विभागले छ महिनाअघि नै प्रारम्भिक छानबिन सुरु गरेको र थप सहयोग माग्दै गत साता प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। सोही पत्रका आधारमा सीआईबीले खड्कालाई पक्राउ गरेको बताइएको छ।

पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले सीआईबीले जारी गरेको ‘जरुरी पक्राउ पुर्जी’ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले रोक्का पारिएको ठूलो रकमको अनुसन्धानका क्रममा २४ भदौको आन्दोलनताका खड्काको निवासबाट बरामद भएको रकम मुख्य आधार रहेको उल्लेख गरेका छन्। अन्य नेताहरूको अनुसन्धानबारे भने मन्त्रालयले कुनै विवरण दिएको छैन।

बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति प्रदान गरेको छ। अदालतका अनुसार विभागले माग गरेको अनुरोध मनासिब देखिएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ ९४० बमोजिम आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपिएको छ।

यस घटनाले देशको राजनीतिक वृत्तमा ठूलो हलचल मच्चिएको छ भने अन्य शीर्ष नेतामाथिको अनुसन्धान पनि चाँडैै सार्वजनिक हुने अपेक्षा गरिएको छ।