चैत १६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा इन्ट्रान्स तयारी कक्षाहरू तत्काल रोक्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै शिक्षामा समान पहुँच ९समतामूलक पहुँच० सुनिश्चित गर्न बाधा पुर्याउने देखिएको छ । साथै, यस्ता कक्षाले विद्यार्थी तथा अभिभावकमा अनावश्यक आर्थिक भार थप्ने मन्त्रालयको दाबी छ ।
मन्त्रालयले शिक्षा प्रणालीलाई थप व्यवस्थित, समावेशी र गुणस्तरीय बनाउन यस्ता तयारी कक्षाहरू आवश्यक नभएको निष्कर्षसहित निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले भने यस निर्णयले निजी शिक्षण संस्थामा असर पार्ने र आगामी दिनमा यसको प्रभावबारे थप छलफल आवश्यक हुने बताएका छन् ।










