महिलालाई स्वरोजगारमुखी बनाउने १ महिनाको डलकुशन तालिम सुरु

चैत, ९ वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ९ महिलालाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन उद्देश्यसहित वीरगंज महानगरपालिका वडा नं. ९ मा १ महिनाको डलकुशन (डल कुसन) बनाउने तालिम सञ्चालन गरिएको छ ।

उक्त तालिम वडा समितिको सहयोग र नेपाल महिला विकास संघको आयोजनामा सुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं। ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता ले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्न प्रेरित गर्न यस किसिमका कार्यक्रमको महत्व रहेको बताए ।

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै आम्दानीको स्रोत सिर्जना गर्न सहभागी महिलालाई आग्रह गरे । कार्यक्रममा विशेष अतिथि रूपमा वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर, कुमारी सोनी पासवान तथा समाजसेवी सतीश सिंह राजपूत उपस्थित थिए। उनीहरूले पनि महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।

नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सञ्चालनमा आएको तालिममार्फत सहभागी महिलाहरूलाई १ महिनासम्म व्यावसायिक रूपमा डलकुशन बनाउने सीप प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

तालिम पछि महिलाहरूले आफ्नै घरमै साना उद्योग सञ्चालन गरी आयआर्जन गर्न सक्ने विश्वास लिइएको छ ।