चैत, ९ सप्तरी । बेपत्ता पारिएको एक नाबालिकाको अवस्था सार्वजनिक गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्नुपर्ने मागसहित बेपत्ता बालिकाका परिवारजन र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ८८सुरुङ्गा नगरपालिका–८, करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका हुन् ।
सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया एक दलित बालिका एक सातादेखि बेपत्ता रहेको परिवारले जनाएको छ। सात महिनाकी गर्भवती रहेको भनिएकी बालिकाको खोजी र न्यायको माग गर्दै आफन्तहरूले प्रहरीमा किटानी जाहेरी दिएका थिए। तर, घटनाप्रति प्रहरीले पर्याप्त चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।
दलित अगुवाहरूको नेतृत्वमा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै बालिकाको अवस्था सार्वजनिक गर्न, दोषीलाई पक्राउ गर्न तथा निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।
वडाध्यक्ष ८८किरणकुमार पोखरेल८८ले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकारकर्मीहरूले घटनालाई केवल बेपत्ता प्रकरण मात्र नभई नाबालिगमाथि सम्भावित यौन शोषण र सामाजिक अन्यायसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। स्थानीय अधिकारकर्मी ८८दिपेन्द्र पासवान८८ले राज्यका निकायहरूले संवेदनशीलता र तीव्रताका साथ अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आफन्तका अनुसार ती बालिका विगत करिब १० वर्षदेखि ८८महेश्वर यादव८८को घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी सात महिनाकी गर्भवती रहेको खुलेपछि गत फागुन ३० गतेयता अचानक सम्पर्कविहीन बनाइएको परिवारको दाबी छ। परिवारले गोप्य रूपमा अन्यत्र लगेर गर्भपतन गराइएको तथा घटनालाई लुकाउने प्रयास भएको हुन सक्ने आशङ्का व्यक्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरी का अनुसार बालिकालाई उनकी दिदीले लगेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ । “प्रहरी टोली परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ,” उनले भन्नुभयो, “बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिनेछ र त्यसपछि यौन शोषण वा जबरजस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइनेछ ।”
स्थानीय बासिन्दाले घटनाको शीघ्र सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।










