निर्माणाधीन संसद् भवनमा शपथग्रहण तयारी अन्तिम चरणमा

चैत, ४ वीरगंज । सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी तीव्र रूपमा भइरहेको छ ।

नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको हो । हलमा माइक, बत्ती तथा अन्य आवश्यक प्राविधिक व्यवस्थापनका काम धमाधम भइरहेका छन् ।

जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भवनमा भएको आगलागीपछि वैकल्पिक स्थानको आवश्यकता परेको थियो । सोहीअनुसार सिंहदरबार परिसरभित्र निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरी शपथग्रहण कार्यक्रमका लागि तयार पारिएको हो ।

प्रवक्ता गिरीका अनुसार उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ ।