निर्माण क्षेत्रका गतिविधी सुस्ताउँदा २५ प्रतिशतले घट्यो पेट्रोलियम पदार्थको आयात

कार्तिक,७ वीरगंज । वीरगंज भन्सार हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट आएको छ । वीरगंज भन्सारबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा डिजेल र पेट्रोलको आयात २५ प्रतिशतले घटेको हो ।

मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगंज चिनिन्छ । तर वीरगंज भन्सारबाट तीन महिना अर्थात असोज महिनासम्मको अवधिमा पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घटेर रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको तीन महिना अर्थात असोज महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले बताए ।

यस्तै, चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।

निर्माण क्षेत्रका गतिविधी सुस्ताउँदा  घट्यो आयात

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । तर मुलुकको निर्माण क्षेत्रका गतिविधी सुस्ताउँदा अर्थात पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको अमलेखगंजस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले बताए ।

पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात पनि बढ्ने प्रमुख आचार्यको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ ।