ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपके हिरासतमा

भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेलाई सोमबार दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

दिपकेले संसद्मा उपस्थित सबै सांसदलाई सडकमा आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा तत्काल उभिन सार्वजनिक अपिल गरेका थिए । सीजेपीको आह्वानमा आयोजित ‘चलो संसद्’ मार्च अन्तर्गत प्रदर्शनकारीहरू सोमबार संसद् भवन नजिक पुगेका थिए। उनीहरूले संसद् परिसरमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस क्रममा संसद् भवनको मुख्य प्रवेशद्वार बन्द गरिएको जनाइएको छ ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। उक्त घटना संसद्को मनसुन अधिवेशनको पहिलो दिन बैठक चलिरहेका बेला भएको हो । यसअघि प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो। दिल्ली प्रहरीले सीजेपीलाई उक्त मार्चका लागि कुनै आधिकारिक अनुमति नदिइएको जनाएको छ ।

प्रदर्शनकारीहरूले मनसुन अधिवेशनको पहिलो दिन संसद् भवन पुगेर आफ्ना माग सांसदसमक्ष प्रस्तुत गर्ने उद्देश्य राखेका थिए ।