साविककै १४.२ किलो ग्यास सिलिण्डर बजारमा पठाउन आयल निगमको निर्देशन, मूल्य २,०६० रुपैयाँ निर्धारण

नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम एलपी ग्यास भरिएका सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ ।

इण्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङ अवस्थामा सुधार आएको जनाउँदै निगमले पूर्ण क्षमताको ग्यास सिलिण्डर पुनः बजारमा पठाउने निर्णय गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बुधबारदेखि ग्यास उद्योगहरूले प्रत्येक सिलिण्डरमा १४ दशमलव २ किलोग्राम ग्यास भरेर बजारमा पठाउनुपर्नेछ। निगमले १४ दशमलव २ किलोग्राम क्षमताको एलपी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य प्रतिगोटा दुई हजार ६० रुपैयाँ कायम गरेको छ ।

यसअघि ग्यास आपूर्ति तथा वितरण प्रणालीमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले गत फागुन २९ गतेदेखि अर्को व्यवस्था नभएसम्म आधा तौल अर्थात् ७ दशमलव १ किलोग्राम ग्यास भरिएका सिलिण्डर बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको थियो । भारतबाट हुने एलपी ग्यास आपूर्तिमा सुधार आएसँगै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले पुनः पूर्ण तौलको सिलिण्डर बिक्री वितरण सुरु गर्न लागिएको निगमले जनाएको छ ।

निगमको यस निर्णयसँगै बजारमा एलपी ग्यासको आपूर्ति सहज हुने तथा उपभोक्ताले लामो समयदेखि भोग्दै आएको असहजताको अन्त्य हुने अपेक्षा गरिएको छ ।