नारायणी अस्पतालका तत्कालीन मेसु ठाकुरसहितका भ्रष्टाचार मुद्दामा अख्तियारको सर्वोच्चमा पुनरावेदन

वीरगंज । विशेष अदालतले सफाइ दिएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संजय कुमार ठाकुरसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति आयोग सन्तुष्ट नभएकाले पुनरावेदन गरिएको हो।

आयोगले साेमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नारायणी अस्पताल, वीरगंजका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार ठाकुर, राजेन्द्र साह, सकुर अन्सारी, शुशिल प्रसाद यादव, सुदिप कुमार माभी, डा. विरेन्द्र प्रधान, माधवी चाैधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तथा लुम्बनी मिसनका आधिकारीक प्रतिनिधि जगत बुढा, लुम्बनी बिल्डर्स प्रालिका तत्कालिन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा गरी १० जना प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको २०८२ पुस १४ गतेको फैसला त्रुटिपूर्ण रहेको भन्दै असार १५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ ७० पैसा बिगो कायम गरी सोही बराबरको कैद, जरिवाना, बिगो असुलउपर तथा प्रतिवादी ठाकुरलाई दफा २४ बमोजिम थप सजायको माग गर्दै आरोपपत्र दायर गरिएको थियो।