बारामा ९३ हजार ३ सय ३० मेट्रिकटन चैतेधान उत्पादन

बारा जिल्लामा चालु वर्ष ९३ हजार ३ सय ३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ ।

जिल्लाको १८ हजार ३ सय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा धान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहका अनुसार किसानहरूले विभिन्न जातका चैतेधान १८ हजार ३ सय हेक्टर क्षेत्रफलमा खेती गरेका थिए । प्रतिहेक्टर औसत ५ दशमलव १ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए ।

कृषि अर्थ विज्ञ गणेश महराका अनुसार उत्पादित चैतेधान हाल कलैया बजारमा प्रतिक्विन्टल दुई हजार रुपैयाँका दरले बिक्री भइरहेको छ। यसअनुसार किसानहरूले कुल १ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।

गत वर्ष जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको थियो । प्रतिहेक्टर ५ दशमलव १ मेट्रिकटन उत्पादन हुँदा त्यसबापत करिब २ अर्ब १ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।