रौतहटको बौधीमाई नगरपालिकाको वडा नम्बर ६ पिपरियास्थित सोती कुलोदेखि ढल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
बुधबार बिहान ९ बजे आयोजित शिलान्यास कार्यक्रममार्फत निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको उपस्थिति रहेको थियो ।
त्यसैगरी, उपप्रमुख प्रमिला देवी जयसवाल विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय बासिन्दाको दीर्घकालीन समस्यालाई समाधान गर्ने उद्देश्यले ढल निर्माण कार्य अघि बढाइएको जनाइएको छ । निर्माण कार्य सम्पन्न भएपछि वर्षायाममा हुने जलजमाव तथा फोहोर पानी व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।










