वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै सिर्सिया नदीमा विसर्जन गरी वातावरण प्रदूषित बनाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै उद्योगहरूबाट प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासा र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएपछि चासो व्यक्त गरेको हो ।
विज्ञप्तिअनुसार प्रचलित औद्योगिक तथा वातावरणीय कानुनबमोजिम उद्योग दर्ता, क्षमता विस्तार वा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा उत्पादन प्रक्रियाबाट निस्कने फोहोर पानी व्यवस्थापनका लागि ‘फोहोर पानी प्रशोधन प्रणाली’ जडान गरी सञ्चालन गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ ।
मन्त्रालयले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका प्रदूषण न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्डअनुसार मात्र फोहोर पानी विसर्जन गर्न उद्योग प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।
नदी तथा खोलाको प्रदूषणले वातावरण मात्र नभई मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पार्ने भएकाले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने मन्त्रालयको भनाइ छ ।
विज्ञप्तिमा सम्पूर्ण उद्योग प्रतिष्ठानलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन तथा मापदण्डको पूर्ण पालना गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरिएको छ ।
मन्त्रालयले औद्योगिक तथा वातावरणीय मापदण्डको उल्लंघन गरेको पाइएमा उद्योग विभाग तथा अन्य सम्बन्धित निकायमार्फत प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।









