भारतको तेलंगाना राज्यमा करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन–चाँदी तथा नगद चोरी गरी नेपालतर्फ भाग्दै गरेका तीन नेपाली नागरिक भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाबाट पक्राउ परेका छन् ।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा एक दम्पती र उनकी सालि रहेका छन् । उनीहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी तथा करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरू तेलंगानाको साइबराबाद कमिश्नरेटअन्तर्गत गाचीबाउली क्षेत्रमा रहेको एक सम्पन्न परिवारको घरमा कामदारका रूपमा बस्दै आएका थिए । नेपालबाट आएका कमल, उनकी पत्नी विमला र सालि कल्पनाले सुरुआती चरणमा विश्वासिलो व्यवहार देखाउँदै घरधनी परिवारको भरोसा जितेका थिए ।
समयसँगै उनीहरूले घरको दैनिक गतिविधि, सुरक्षा व्यवस्था तथा परिवारको आवतजावतबारे जानकारी संकलन गरेको प्रहरीको आरोप छ । घटनाको दिन घरधनी परिवार बाहिर गएको अवसर पारेर उनीहरूले घरभित्र राखिएको ठूलो मात्रामा सुन–चाँदी र नगद चोरी गरेको बताइएको छ । चोरीपछि तीनै जना फरार भई नेपालतर्फ जाने तयारीमा रहेका बेला भारत–नेपाल सीमाक्षेत्रतर्फ जाँदै गर्दा रामपुर प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउपछि गरिएको खानतलासीका क्रममा चोरी गरिएको भनिएको सम्पूर्ण सामान बरामद भएको प्रहरीले जनाएको छ ।
तेलंगाना र उत्तर प्रदेश प्रहरीको संयुक्त अपरेशनमार्फत उनीहरूलाई पक्राउ गरिएको हो । तेलंगानाको गाचीबाउली क्षेत्रमा दर्ता भएको चोरी मुद्दाका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताएका छन् । साथै पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग समेत समन्वय गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।









