सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने, कडाइका साथ लागू गर्न सरकारको निर्देशन

बैशाख ९, वीरगंज । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले हालै यातायात व्यवसायी तथा सरोकारवाला निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो । यस क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूको कानुनी अधिकारको पालना गर्न स्मरण गराइएको छ ।

इन्धनको मूल्य वृद्धि भएसँगै केही सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ । ‘हेलो सरकार’ र गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरी आउने क्रम बढेपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।

विभागका अनुसार कतिपय चालक तथा सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा समेत सहुलियत दिन अस्वीकार गर्ने र दुव्र्यवहार गर्ने गरेको गुनासो प्राप्त भएको छ ।

विभागले पत्रमार्फत सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सहमति सम्झाउँदै सो निर्णयअनुसार विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

यदि कुनै पनि सार्वजनिक सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरेमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ ।