ब्राउनसुगरसहित युवक पक्राउ, लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दो

चैत २९, वीरगंज । सिराहाको सुखीपुर नगरपालिका–८ महदेवाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ वर्षीय सुशिल कुमार चौधरी रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार तथा स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीको साथबाट ९ सय ९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा लागूऔषध फेला परेको जनाएको छ ।

पक्राउ परेका चौधरीमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिने तयारी गरिएको छ ।

पछिल्लो समय सिराहा लगायत मधेस प्रदेशका विभिन्न जिल्लामा लागूऔषधको कारोबार र प्रयोग बढ्दै गएको पाइएको छ । त्यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी तथा अपरेसनलाई तीव्र बनाएको जनाएको छ ।

प्रहरीले लागूऔषध ओसारपसार, बिक्री वितरण तथा सेवनमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराउँदै यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत आग्रह गरेको छ ।