चैत १८, वीरगंज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगंज नाकाबाट रु २३ अर्ब ५७ करोड बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष सवारीसाधन तथा पार्टपुर्जाको आयात मूल्य रु ६ अर्ब ४२ करोडले वृद्धि भएको हो ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा सवारीसाधन तथा पार्टपुर्जाको आयातमा उल्लेख्य वृद्धि देखिएको छ । सो अवधिमा सवारीसाधन तथा पार्टपुर्जा आयातबाट मात्र रु १६ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रु १७ अर्ब १५ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।
यसैगरी, चालु आर्थिक वर्षको सात महिनामा रु १ अर्ब १६ करोड १३ लाख मूल्य बराबरका ६०९ वटा इन्धनबाट चल्ने जिप, कार तथा भ्यान आयात भएका छन् । ती सवारीसाधनबाट मात्र रु २ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु १ अर्ब ५० करोड मूल्यका ७४८ वटा इन्धनबाट चल्ने जिप, कार तथा भ्यान आयात भएका थिए, जसबाट रु ३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो।










