चैत १७, काठमाडौँ । सुदन गुरुङ ले राजु अर्याल सँग सीमा सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल को हलचोकस्थित प्रधान कार्यालयमा मंगलबार पुगेका गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न ‘बोर्डर पेट्रोलिङ’ कडा बनाउने विषयमा विशेष जोड दिएका छन् ।
तस्करी नियन्त्रणका लागि सीमा गस्ती सुदृढ बनाउन उनले एपीएफ आईजीलाई निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।
बैठकमा अन्य संस्थागत सुधारका विषयमा पनि छलफल भएको एक सहभागी अधिकृतले जानकारी दिएका छन् ।
त्यसैगरी, विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, रणनीति निर्माण, स्रोत व्यवस्थापन तथा निकायहरूबीच समन्वय सुदृढ गर्ने विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ ।










