एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ

चैत १६, काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो । सांसद शर्मामाथि एक नाबालिका बालिकालाई घरेलु कामदारका रूपमा राखी बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ ।

पीडित बालिकाले काठमाडौँ महानगरपालिकामा दिएको उजुरीका आधारमा महानगरको टोलीले शर्माको बालुवाटारस्थित निवासबाट ती बालिकाको उद्धार गरेको थियो । त्यसपछि बालिकालाई सुरक्षित आवास ९सेफ हाउस० मा राखिएको थियो ।

घटनापछि जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरीपछि अनुसन्धान प्रक्रिया अघि बढे पनि यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र पाटन उच्च सरकारी वकिलको कार्यालयले सांसद शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए । सो फाइल महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो ।

यता, अनुसन्धान प्रक्रियालाई रोक्न माग गर्दै सांसद शर्मा पाटन उच्च अदालत पुगेकी थिइन् । तर, साउन २३ गते अदालतले उनको रिट खारेज गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको थियो । त्यसपछि लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसके पनि अहिले भने उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी शर्मामाथि बालबालिकाविरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाइनेछ ।