चैत ११, काठमाडौं । नेपाली काँग्रेसले भर्खरै सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा नराम्रो पराज्यपछि मधेशमा गुमाएको जनाधार फिर्ता ल्याउन संसदीय दलको नेता मधेशबाटै बनाउने चर्चा चुलिएको छ ।
काँग्रेसबाट सांसद बनेका प्राध्यापक डा. चन्द्रमोहन यादवलाई संसदीय दलको नेता बनाउने विषयमा पार्टीभित्र छलफल भइरहेको काँग्रेसका एक नेताले बताएका छन् ।
कांग्रेसको इतिहासमा सबैभन्दा बढी जनाधार मानिने तराई–मधेशमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि काँग्रेसले मधेशमा गुमाएको जनाधारको पुनःसुदृढीकरण गर्न सहज हुने गरि राजनीति अनुभव, सुझबुझ र स्वच्छ छवी भएका डा. यादवलाई संसदीय दलको नेता बनाउन पार्टीभित्र दबाब भईरहेको पार्टी स्रोतले जनाएको छ ।
प्राध्यापक डा. चन्द्रमोहन यादव चिकित्साशास्त्रमा स्नातकोत्तर र मेडिकल साइन्समा एम.डी. गरेका रेडियोलोजीका प्राध्यापक समेत हुन् । पटक पटक विश्वास जित्दै आएका डा. यादव दोश्रो पटक सांसद बनेका हुन् ।
पार्टीका एक नेता अनुसार, वर्तमान जटिल राजनीतिक परिस्थितिमा काँग्रेसलाई तराई–मधेशमा जनविश्वास फिर्ता ल्याउन र राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम राख्न डा. यादव जस्तो सुझबुझपूर्ण नेतृत्व आवश्यक रहेको देखिन्छ । त्यसैले डा. यादवलाई संसदीय दलको नेता बनाएर काँग्रेसले मधेश संग–संगै देशलाई नै सन्देश दिने गरि राजनीति परिपक्वता र स्वच्छ छबि भएका डा. यादवलाई अघि सार्न पार्टीभित्र छलफल भईरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर मधेशमा क्लिन स्विप गरेको अवस्थालाई मध्यनजर गर्दै कांग्रेसभित्र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै संविधान सभा सदस्य समेत रही संसदीय परिपक्वता प्रमाणित गरिसकेका डा. यादवलाई अगाडी ल्याउँदा मधेशमा काँग्रेस पुनः बलियो हुन सक्ने राजनीतिक बिश्लेषकहरु पनि बताउँछन् ।
कांग्रेसको इतिहासमा स्व. बी.पी. कोईराला र गिरिजा प्रसाद कोईरालाले मधेशप्रति विशेष ध्यान दिएका थिए भने हालै सम्पन्न आम निर्वाचनमा गगन थापाले पनि मधेशको जनाधारको महत्वलाई जोड दिएका थिए । विश्लेषकहरूका अनुसार डा. यादव संसदीय दलको नेता भए, काँग्रेसले मधेशमा गुमाएको जनाधारको पुनःसुदृढीकरण गर्न सहज हुनेछ । यसैक्रममा, पार्टी भित्रको युवाप्रधान नेता र मधेशीय जनसंपर्क समितिहरूले पनि यस कदमलाई सकारात्मक रुपमा स्वागत गर्ने अपेक्षा गरिएको छ ।
पार्टी नेताहरूका अनुसार, डा. यादवले अनुभव, मधेशीय सम्वेदनशीलता र वैज्ञानिक सोचलाई मिश्रित गरी संसदमा कांग्रेसको नेतृत्वलाई मजबुत बनाउन सक्नेछन् । यस कदमले पार्टीको रणनीति, संसदीय कामकाज र नयाँ सरकारसँगको समन्वयमा पनि सहजीकरण हुने आशा गरिएको छ ।
अगामी संसद सत्रमा डा. यादवको संसदीय नेतृत्वले पार्टीलाई पुनः सक्रिय र सशक्त बनाउने दिशामा केन्द्रित रहने एक कांग्रेश नेताले बताए ।










