पोखरिया नगरपालिकामा अख्तियारको छापा, मेयर र कर्मचारीको घरमै जिन्सी सामग्री भेटिएको दाबी

चैत १०, वीरगंंज । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार छापामारी गरेको छ । हेटौँडास्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नगरपालिकाभित्र देखिएको बेथिति तथा अनियमिततासम्बन्धी उजुरीका आधारमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो । जाँचका क्रममा शाखामा रहेका कागजातहरू नियन्त्रणमा लिइएको र त्यहाँ अधिकांश बिल भुक्तानीसम्बन्धी कागजात मात्र फेला परेको आयोग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिन्सी शाखामा अभिलेखित हुनुपर्ने सामग्री भने कार्यालयमा नभई मेयर तथा केही कर्मचारीहरूको घरमै फेला परेको छ । यस घटनाले नगरपालिकाभित्र व्यापक अनियमितता तथा दुरुपयोग भएको आशंकालाई थप बलियो बनाएको छ ।

अख्तियारको टोलीले आवश्यक नाप–जाँच तथा कागजातहरू सुरक्षित गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। उक्त घटनाले पोखरिया नगरपालिकाको वित्तीय व्यवस्थापन, सामग्री अभिलेखन प्रणाली तथा कार्यालयीय पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।